काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा जाने भएका छन्।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएपछि उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी बन्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। उक्त टेलिफोन संवादमा उनीहरुबीच आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई थप मजबुत पारेर अगाडि बढ्ने विषयमा छलफल भएको बताईएको छ।
राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ। भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ।
मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन्। तेस्रो पटक प्रधानमन्त्री बन्न लागे पनि मोदीको भाजपा एक्लैले भने बहुमत ल्याएको छैन।
भाजपालाई चन्द्रबाबु नायडुको तेलुगु देसम पार्टी(टीडीपी) र नीतीश कुमारको जनता दल युनाइटेड(जेडीयू) लगायतका गठबन्धनका दलहरूको साथ चाहिन्छ। बुधवार एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय गरेको छ।