वायुसेवा निगमले तिर्‍यो चैतसम्मको ऋण किस्ता

HTV Khabar २ वैशाख २०८२, मङ्गलबार १०:२६ मा प्रकाशित

काठमाडौं,  नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको चैता २०८१ सम्मको साँवाब्याजको किस्ता भुक्तानी गरेको छ।

निगम प्रवक्ता सुवाष डांगीका अनुसार दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्न लिएको ऋणको चैत महिनाको किस्ताबापत न्यारो बडीको पूरै र वाइड बडीको आंशिक गरी कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको हो। पछिल्लो पटक व्यवस्थापनले चैत मसान्तसम्म कुल ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ भुक्तानी गरिसकेको समेत निगमले जनाएको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न ऋण लिएको थियो। ऋण सोही दुई निकायलाई भुक्तानी हुने गरेको छ। किस्ता संख्या बढाएर र ब्याज, हर्जाना तथा पेनल छुट गरी सहयोग गर्न ती निकायमा आग्रह गरिएको समेत निगमले उल्लेख गरेको छ।