आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

HTV Khabar १० भाद्र २०८१, सोमबार ०७:४० मा प्रकाशित

काठमाडौं,  आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर मनाइँदै छ। यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन्।

आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ। पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ।

यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना सन्देश दिएका छन्।