काठमाडौं, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गर्दै आएको कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ।
पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यता तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा भएको ११औं महोत्सव भव्य र सम्पन्न भएको हो।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेलको संयोजनमा भएको कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, विशिष्ट अतिथि संविधान सभा सदस्य तथा कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रमका परिकल्पनाकार रामेश्वर फुयाल, नेकपा माओवादीका महेश्वर फुयाललगायत विशिष्ट व्यक्ति र स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति थियो।
नगरबासीको बाक्लो सहभागिता रहेको महोत्सवमा विभिन्न स्थानीय उत्पादनहरुलाई प्राथमिकता स्वरुप स्टलहरुमा बिक्रीवितरण गर्न राखिएको थियो। स्थानीय सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध डेरीले अतिथिहरुलाई स्थानीय उत्पादन मोहि र खुवा खुवाएको थियो। उक्त महोत्सव स्थलमा बालबालिकालाई मनोरञ्जनको लागि विभिन्न खेलहरुपनि समावेश गरिएको थियो।
स्थानीय कलाकारहरुले गीत संगीत सुनाएर शुरु गरिएको संस्कृति कार्यक्रममा राष्ट्रिय कलाकार मनोज गजुरेल मौलिक र यथार्थता प्रदर्शन प्रस्तुत गरेको हाँस्यव्यङ्ग्यले माहोल तताएको थियो। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, चिनियाँ राष्ट्रपति सि जिङ पिङको, नेपालका बहालवाला प्रधानमन्त्री केपि ओली, नेपालका पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको जीवन्त अभिनय क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए।
त्यस्तै लोकगायक तथा कलाकार राजु परियार, पुष्कर सुनुवार, कमला थापा, सुमिना लो, मणिराज काफ्ले, रामचन्द्र अधिकारी लगायत दर्जनौं कलाकारहरुले उत्कृष्ट प्रस्तुतिद्वारा महोत्सवमा रङ्ग भरेका थिए भने स्थानीय विद्यालयका बालबालिकाहरुले नृत्य, स्काउटरहरुले स्काउट गीतमा आफ्नो कला र पिरामिड कला प्रस्तुत गरेका थिए। तेक्वान्दो खेलाडीहरुले पनि मनोरञ्जन गराएका थिए।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संयोजक गजुरेलले कागेश्वरी मनोहरा नगरलाई पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। उनले बूढानीलकण्ठ देखि तारेभिर कागेश्वरी मनोहरा हुँदै चिसापानीसम्मको पदमार्गलाई पूर्वाधार सम्पन्न बनाउन प्रमुख अतिथि पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डेसंग जोडदार माग गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमको प्रमुख अतिथि हुनपाएकोमा आयोजकलाई धन्यवाद दिएका थिए। कागेश्वरी मनोहरा नगर क्षेत्र पर्यटकीय हिसाबले उत्कृष्ट रहेको बताउँदै स्थानीय सरकारले आवश्यक पूर्वाधार निर्माण गरि यसलाई उदेश्य पुरा गर्न आग्रह गरेका थिए।
महोत्सवमा स्थानीय नगरबासीहरुको उल्लेख्य सहभागिता हुनुनै यस ठाँउको विकास सम्भावना रहेको र आवश्यक परे संघीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। समय अभावका कारणले गर्दा कागेश्वरी मनोहराको काग र ईश्वरीको समिश्रण प्रतिमूर्ती दर्शन गर्न नपाएकोमा दु:ख व्यक्त गरेका थिए।
महोत्सवमा सहभागिता जनाउने सहभागी स्थानीय संघसंस्था तथा स्वयंसेवक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गर्दै नगरप्रमुख उपेन्द्र कार्की रामेश्वर फुयालले धन्यवाद दिएका थिए। फुयालले कागेश्वरी मनोहरा नगर क्षेत्रलाई पर्यटनको उत्कृष्ट गन्तव्य स्थल बनाउने आफ्नो सपना साकार हुँदै गएको देख्दा खुशी लागेको बताए।
कागेश्वरी मनोहरा नगर क्षेत्रका सम्पूर्ण बासिन्दाको हितमा कार्यगर्ने आफ्नो मनसाय लिएरनै नगरको जिम्मेवारी सम्हालेको बताउँदै नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगर क्षेत्रलाई र सहिद पार्कलाई पूर्वाधार विकास गरि पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउने प्रतिबद्धता जनाएका थिए।
गीता खड्काले सञ्चाकन गरेको हजारौंको संख्यामानै नगरबासीको सहभागिता रहेको महोत्सवमा आईपर्नसक्ने जोखिमको मध्येनजर गरेर आवश्यक मात्रामा सुरक्षाकर्मीको परिचालन गरिएको संयोजक मुकुन्द गजुरेलले एचटिभी खबरलाई बताए। नेपाल रेडक्रस तथा नगरका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा उपलब्ध गराएको पनि गजुरेलले बताए।