त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

HTV Khabar २४ असार २०८२, सोमबार १२:४६ मा प्रकाशित

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.५ किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, त्रिभुवन विमानस्थल गौचरमा खटिएको टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ गर्दै गहिरो निगरानीका क्रममा शनिवार राति ११ बजे उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ६५ वर्षीय भारतीय नागरिक राकेश वहाब रहेका छन्। उनी थाई एयरवेजको फ्लाइटमार्फत बैंककबाट काठमाडौं आइपुगेका थिए। उनको लगेज जाँच गर्दा हेरोइन लुकाइराखिएको अवस्थामा भेटिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानसहित लागूऔषध कसूरमा कारबाही प्रक्रिया अघि बढाइएको छ।