एजेन्सी, पश्चिम एशियामा जारी युद्धबीच सामाजिक सञ्जालमा फर्जी भिडियो फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा गरी ७ नेपाली पक्राउ परेका छन्।
बीबीसीका अनुसार यूएई, साउदीमा ३–३ जना र कुवेतमा १ गरी जम्मा ७ जना पक्राउ परेका हुन्। यद्यपि, आरोपीको पहिचान भने खुलाइएको छैन।
यूएईको सरकारी समाचार एजेन्सी वामका अनुसार केही मानिसले सार्वजनिक गरेको भिडियोमा वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्दै गरेको वास्तविक फुटेज थियो भने अन्य क्लिपमा जमिनमा खसालिएका प्रोजेक्टाइल र घटना हेर्न जम्मा भएको भिड देखाइएको थियो।
अनुसन्धानका क्रममा केही भिडियो एआईबाट बनाएको पत्ता लागेको छ, जसमा यूएईका अलगअलग इलाकामा विस्फोट, ठूलो मात्रामा आगो र प्रमुख भवनहरूमा हमलाका झुटा दृश्य रहेका छन्।
पश्चिम एसियामा बढ्दो तनावबीच डिजिटल प्लेटफर्मको निगरानीका क्रममा उक्त कारबाही गरिएको हो। यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई १–२ वर्षसम्म कैद र १ लाखदेखि २ लाख दिरहमसम्म जरिवाना हुन सक्ने बताइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले खाडीमा रहेका नेपालीलाई स्थानीय कानुन पालना गर्न र सामाजिक सञ्जालमा संवेदनशील सामग्री सेयर नगर्न बारम्बार आग्रह गरिरहेको छ ।
तर, दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन। यसअघि आईतवार पनि यूएई र इरानबीच युद्धको फर्जी भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा एक नेपालीसहित १० पक्राउ परेका थिए।