काठमाडौं, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
आईतवार लिएको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्ता पछि वर्तमान डिन प्रा.डा.दिव्यासिंह शाह, प्रा.डा.मोहनराज शर्मा र प्रा.डा.सुधा बस्नेतको नाम त्रिवि कार्यकारी परिषद्मा सिफारिस भएको स्रोतले जनाएको छ।
अल्पसूचीमा प्रा.डा.अभिमन्यू झा, प्रा.डा. उत्तमकुष्ण श्रेष्ठ पनि थिए। उनीहरु दुईजनालाई बाहिर राख्दै तीनजनाको नाम सिफारिस गरिएको हो।
त्रिवि कार्यकारी परिषद्ले सिफारिसमा परेका तीनमध्ये एकजनालाई डिन नियुक्त गर्नेछ। आईओएममा डीन रहेकी प्रा.डा.दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो। तर उनलाई अर्को डिन नियुक्ति भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न भनिएको छ।
यसअघि डिनका लागि १३ जनाले आवेदन दिएका थिए । जसमा अल्पसूचीमा परेका पाँच जनासहित प्रा.डा.रमेशसिंह भण्डारी, प्रा.डा. निरजु रञ्जित, प्रा.डा. दिनेश काफ्ले, प्रा.डा. रामचन्द्र अधिकारी, प्रा.डा. मिता राणा, सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठ, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. रत्नमणि गजुरेल थिए।
त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि नाम सिफारिस गर्न ३२ साउनमा प्रा.डा. कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो। उक्त समितिमा प्रा.डा.सुवासप्रसाद आचार्य र प्रा.डा.योगेन्द्रमान शाक्य सदस्य रहेका छन्।