काठमाडौं, भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन्।
उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन्।
उनी मंसिर ९ गतेसम्म नेपालमा रहने छन्। नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।
नेपाल आउनासाथ उनले सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने छन्। साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिया र पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्ने तालिका पनि छ।
उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए।