युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

HTV Khabar ३ मंगशिर २०८१, सोमबार ०४:३८ मा प्रकाशित

काठमाडौं, अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न  स्वीकृति दिएका छन्।

एक अमेरिकी अधिकारीले द न्युयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली  मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए।  

क्रेमलिनबाट भने यो समाचारमा बारेमा  तत्काल कुनै प्रतिक्रिया आएको छैन। रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ। 

उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आईतवारको ठूलो  रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति  बाइडेनले (रूसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको  विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्समार्फत जनाएका छन्।  

आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएका छन्। युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ।