प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित

HTV Khabar २ माघ २०८०, मङ्गलबार ०७:२८ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ। जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार दोस्रो जित हो।


दोस्रो खेल खेलेको एपीएफले यसअघि आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो। दुई खेल खेलेको कोशी प्रदेशको भने यो लगातार दोस्रो हार हो। यसअघि आफ्नो पहिलो खेलमा कोशी प्रदेश मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो।


काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रनमात्र बनाउन सकेको थियो।जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १९.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो।