काठमाडौं, यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ। ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन्।
इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ। नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ। पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ।
‘यदि इरानका अधिकारीहरुले उनलाई रिहा गर्न सही निर्णय लिए भने उनी पुरस्कार वितरण समारोहमा उपस्थित हुनेछिन्, जुन हामीले अपेक्षा गरेका छौं’ समितिका प्रमुख बेरिट रिस–एन्डरसनले भने। उनी डिफेण्डर अफ ह्युमन राइट सेन्टरको उपप्रमुख हुन्, जसको स्थापना नोबेल पुरस्कार जितिसकेकी शिरीन एबादीले गरेकी थिइन्।
नर्गिसलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ। ५ पटक दोषी ठहर्याएको छ। ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ।
नोबेल पुरस्कार समितिले नर्गिसलाई यस्तो बेला नोबेल शान्ति पुरस्कार दिएको छ, जतिबेला इरानमा महिलाहरुले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका छन्। सेप्टेम्बर २०२२ मा २२ वर्षीया महशा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिलाहरुले आन्दोलन सुरु गरेका थिए, जुन छिट्टै देशभर फैलियो। यसक्रममा महिलाहरुले सार्वजनिक रुपमा कपाल मुण्डन गरेका थिए।