न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु

HTV Khabar १३ श्रावण २०८२, मङ्गलबार १०:४३ मा प्रकाशित

काठमाडौं, अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ।

गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन्। ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ। प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए।

सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए। त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए।नेशनल फुटबल लिग, ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू रहेको ६३४ फिट अग्लो गगनचुम्बी भवनमा गोली चलेको हो।

गन भायोलेन्स आर्काइभको तथ्यांक अनुसार यो अमेरिका भित्र यसै वर्ष भएको २५४ औं सामूहिक गोलीकाण्ड हो।  प्रहरी अधिकारीहरुले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका छन् र गोली चलाउनुको कारण अझै स्पष्ट नभइसकेको बताएका छन्।

गोली चलाउने व्यक्ति एमबीडब्ल्यू गाडी चढेर आएका थिए। उनीसँग एम–फोर राइफल र एक रिभल्बर पनि थियो। उनी चढेर आएको गाडीमा त्यसका गोली र म्यागेजिन पनि फेला परेको छ। साथै उनीसँग नेभाडा राज्यको ड्राइभिङ लाइसेन्स पनि भेटिएको छ।