काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा आज माघ ११ गते देखि तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला अर्थात करियर फेयर सुरु भएको छ।
मेलाको आज प्रमुख अतिथि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा.भीष्म कुमार भुसालले उद्घाटन गरेका छन्। नगरपालिका भवन परिसरमा २ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल छन्।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिन भ्रमण अवलोकनमा आएका ६३८० जनाले उपस्थिति दर्ता गराएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार १५ हजार भन्दा बढिलाई यस मेलामा सहभागि गराउने र बढी भन्दा बढी बेरोजगार व्यक्तिहरुलाई सिप र तालिम दिने योजना रहेको छ।
नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागि सिप परियोजनाका डेप्युटि टिम लिडर कन्चन तामाङ, नगरपालिकाका सम्पुर्ण वडाका अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि डा.भिष्म कुमार भुषालले वृत्ति र रोजगारीको खोजिमा अलमलिरहेका युवा जमातको निम्ति निकै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए।
नगरप्रवक्ता नवराज भट्टराईले दुईदिन सञ्चालन हुने मेलाको पहिलो दिन नै ६ हजार पाँचसय भन्दा बढि युवाहरु सहभागी भएका जानकारी दिएका छन्। यस मेलामा नगरले आँकलन गरेका भन्दा धेरै युवाहरुले सहभागिता जनाउनसक्ने बताए।
मेला मार्फत नगरपालिकामा स्वरोजगारीको अवसरहरु सिर्जना गर्दै युवालाई वैदिशिक रोजगारीमा पठाउनु भन्दा स्वदेशमै उद्यमी तथा स्वरोजगार बन्न सक्ने सम्भावनाहरु मार्ग निर्देशन गर्ने र आवश्यकता अनुसार स्थानीय सरकारबाट उनिहरुको क्षमता अभिवृद्धि गर्ने अथवा विँउ पुँजी रकम सहयोग गर्ने बताए।
राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न हेटौंडा गएका कारण उद्घाटन कार्यक्रममा उपस्थित हुन नसकेका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले दिउँसो मेलाको अवलोकन भ्रमण गरी विद्यार्थी र स्टल संचालकहरु संग अन्तरक्रिया गरेका थिए।
नगरप्रमुख मिठाराम अधिकारीले विदेशियका युवालाई देशमै केही गरौं भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए। उनले युवाहरु पढाई र रोजगारीका लागि विदेश जाँदा ठुलो मात्रामा देशको जनशक्ति र रकम विदेशिएको बताए। जसका कारण पनि देशमा आर्थिक संकट आएको उनको भनाइ रहेको छ।
