पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई दिने : स्वास्थ्यमन्त्री पौडेल

HTV Khabar १० श्रावण २०८१, बिहीबार ०६:०८ मा प्रकाशित

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन्।

विहिवार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको बताए।

पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पहिचान भएका शवलाई शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए।

‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ लगायतबाट पहिचान हुन नसके डीएनए परीक्षण गर्नुपर्ने र त्यसको थप तीन, चार दिन लाग्न सक्ने चिकित्सकहरूले बताएको पौडेलले जानकारी गराए।

मन्त्री पौडेलका अनुसार हिजो (बुधबार) ४ वटा शवको पोस्टमार्टम भएको थियो। तर त्यसलाई मृतकका आफन्तले दिएको हुलिया र क्लिनिकल परीक्षण गरी ‘म्याचिङ’ गर्न बाँकी छ।