काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्।
शुक्रवार ईयूका राजदूत भेरोनिक लोरेन्जो सहित प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे।
‘नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट सम्बन्ध छ। ईयू नेपालको प्रमुख विकास साझेदार पनि हो,’ मन्त्री पाण्डेले भने, ‘हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा ईयूको निरन्तर सहयोगप्रति कृतज्ञ छौं। त्यसकारण ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चााडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध छ।’
राजदूत लोरेन्जोले ईयूको हवाई प्रतिबन्धले नेपाली पर्यटन क्षेत्रमा परेको असरबारे जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिइन्।
उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताइन्।राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोचसाथ हेरिरहेको बताइन्।