काठमाडौं, श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ। यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ।
यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने गरिन्छ।
किन पुजिन्छ नाग
एक प्रख्यात किंवदन्ती अनुसार एक किसानले आफ्नो खेत खनिरहेका बेला भेट्टाएका नागका तीन वटा बच्चा मारिदिए। त्यसबाट क्रोधित भएकी नागिनीले किसानलाई तत्कालै मारीदिइन्। त्यति गर्दा पनि रीस नमरेपछि उनले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन्।किसानकी छोरी घरबाहिर रहेकीले बाँच्न सफल भइन्।
किसानकी छोरीले जब सबै कुरा थाहाँ पाइन् तब उनले अनेक प्रकारले याचना गर्दै नागिनीको पूजा गर्न थालिन। शुद्ध मनले पूजा गर्दै उनले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले उनको जीवन दान दिनुकोसाथै एउटा वर दिने पनि बचन दिइन्।
मौका मिल्नासाथ किसानकी छोरीले आफ्ना मातापिता र भाइको जीवन मागिन्। नागिनीले तथास्तु भनी किसानको परिवारलाई आजकै दिन बचाइदिइन्। यसरी आफ्नै सन्तान मार्नेलाई समेत जीवनदान दिन सक्ने दयालू नागलाई सम्मान गर्दै श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन नागपूजा गरी घरमा टाँस्ने चलन चलेको हो।
त्यस्तै अर्को भनाइ अनुसार एकपटक गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्ष सम्म तपस्या गरे। उनले यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएर ल्याइयो। आफ्ना गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ।
वराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले शुक्लपञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ। आजको दिन देशभर नागको मन्दिरमा पूजा अर्चना गरिन्छ। त्यस्तै काठमाडौंको नक्सालस्थित नाग पोखरीमा आज मेला लाग्ने गर्दछ।