भरतपुर आँखा अस्पतालः तीन लाख ४० हजार बढीको उपचार

HTV Khabar १७ श्रावण २०८१, बिहीबार ०६:२९ मा प्रकाशित

काठमाडौं, नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ।अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो। झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ।स्कुलमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको घिमिरेले बताए।चितवनसहित छिमेकी जिल्लामा अस्पताल मातहत १७ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ।

ती केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो। यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो। मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन्। यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो।

सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ। अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या १० हजार चार सय १५ रहेको थियो। अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा विशेषज्ञ सेवा सहितको अस्पताल, तीन सेकेन्डरी अस्पताल र १७ आँखा उपचार केन्द्र रहेका छन्। भरतपुर महानगरपालिका वडा नं १० मा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल रहेको छ। पर्साको ठोरी, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०को कावासोती र बाराको सिम्रनगढमा आँखाको सेकेण्डरी अस्पताल रहेको छ।

भरतपुर नजिकै आँखाको सहरी क्लिनिक रहेको छ। चितवन, नवलपरासी बर्दघाट–सुस्ता पूर्व, धादिङ्, तनहुँ, बारा, पर्सा, सर्लाही र सिन्धुलीमा १७ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बिरामीको चाप बढेको उनले बताए।
अस्पतालका निर्देशक डा.पुष्पा गिरी श्रेष्ठले सहरसँगै ग्रामीण क्षेत्रमा आँखाका बिरामी विभिन्न कारणबाट अस्पतालसम्म आउन नसकेको भन्दै गाउँगाउँमा शिविरमार्फत उपचार दिने गरिएको बताइन्।

शिविरहरुमा समस्या देखिएका बिरामीलाई सेकेण्डेरी अस्पताल र विशेषज्ञ अस्पतालमार्फत थप उपचार सेवा दिने गरेको उनले बताइन्। अहिले नेपालमा उपलव्ध अधिकांश आँखा उपचार सेवा दिन अस्पताल सक्षम रहेको निर्देशक श्रेष्ठको भनाइ छ। रासस