कुनै समय विद्यालयमा सिङिङ्ग स्टार कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरु माझ हौसला थपी यस क्षेत्रमा प्रसिद्धि कमाएको काठमाडौं -६ बौद्ध रामहिटिस्थित नव जागृति माध्यमिक विद्यालयमा यस पटक बालबालिकाको हौसला बढाउन डान्सिङ्ग स्टार कार्यक्रम हुने भएको छ।
गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा मात्रै नभएर मनोरञ्जन पनि बालबालिकाको अधिकार भित्र पर्दछ। अझ मनोरञ्जनसंगै बालबालिकाको सिकाइ हुनुपर्छ भन्ने त बाल अधिकार सम्बन्धि कार्यगर्ने संस्थाहरुले बताउँदै आईरहेका छन्। बाल अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले श्री नव जागृति माध्यमिक विद्यालयमा २०६२ सालमा नै सिर्जनशील बालसमूह नामक संस्थाको स्थापना भएको थियो। जसले बालबालिकाको वृहत्तर उन्नतिका निम्ति कार्य गर्दैआएको छ।
यस संस्थाका पदाधिकारी र सदस्यहरु लोकतान्त्रिक पद्धतिअनुसार यसै विद्यालयमा अध्ययनरत बालबालिकाले आफ्नो मत दिएर छनौट गर्ने गरेका छन्। यसै विधि र नियमलाई अपनाएर गएको हप्ता भएको पदाधिकारी निर्वाचन -२०८० बाट स्वेता कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ। यसरी चुनिएर आएका पदाधिकारी तथा सदस्यहरुको कार्यकाल भने एक वर्षको हुनेछ।
उक्त बालसमूहको आयोजनामा भोलि जेठ १२ गते शुक्रवारदेखि नव जागृति डान्सिङ्ग स्टार कार्यक्रम शुरु हुँदैछ। विद्यालयमा नै अध्ययन गर्ने करिब दुईसय बालबालिकाले डान्सिङ्ग स्टार कार्यक्रममा प्रतिस्पर्धा गर्ने आयोजक सिर्जनशील बालसमूहकी अध्यक्ष स्वेता कार्कीले बताइन्। पाँचवटा चरणमा सञ्चालन हुने कार्यक्रममा निर्णायकको प्रमुख भूमिकामा नृत्य निर्देशक संघ काठमाडौंकि समृद्धि पन्त रहनु भएको छ भने आवश्यकताअनुसार अरु निर्णायकहरुको पनि सहभागिता रहनेछ।
विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख सबिन पन्त 'पृथक' ले उक्त कार्यक्रमलाई सहजीकरण गर्नुभएको छ। यस्ता सिर्जनशील कार्यक्रमद्वारा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने भएकोले विद्यालयमा यस्ता बाल प्रतिभामूखी कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक डम्बरबहादुर राईले एचटिभी खबरलाई बताए।