भदौ १५ देखि नेपाल ईभी एक्स्पो हुने

HTV Khabar २ श्रावण २०८०, मङ्गलबार ११:०२ मा प्रकाशित

काठमाडौंज काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ १५ देखि १७ गतेसम्म नेपाल ईभी एक्स्पो हुने भएको छ।

विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एण्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपालले जनाएको छ।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता र १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन्।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीको सहभागिता रहने आयोजकको भनाइ छ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ता, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने आयोजकको अपेक्षा छ।

प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने बताइएको छ।

प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ।