काठमाडौं, आज ‘क्रिसमस डे’ नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरुले उल्लासका साथ यो पर्व मनाउँदैछन्।
अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन्। क्रिसमस डेलाई ‘मेरी क्रिसमस’ भन्ने गरिन्छ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन्। ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।
क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ। बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको छ।
किन मेरी क्रिसमस भनिन्छ ?
पहिलो कारण- येशुकी आमाको नाम मरियम थियो। उनलाई मदर मेरी पनि भनिन्छ। त्यसैले पनि सम्भवत क्रिसमसको शुभकामना दिन मेरी क्रिसमस भनिने गरिन्छ।
दोस्रो कारण- अंग्रेजी भाषामा मेरी शब्दको अर्थ नै खुशी अर्थात रमाइलो हुन्छ अर्थात ह्याप्पी। त्यसैले क्रिसमसमा बधाई दिनका लागि ह्याप्पीको ठाउँमा मेरी शब्द प्रयोग गरिएको हो।
१८ औं शताब्दीमा प्रख्यात बनेका साहित्यकार चार्ल्स डिकेन्सले आफ्नो किताब अ क्रिसमस केरोलमा सबैभन्दा बढी मेरी शब्दको प्रयोग गरेका थिए। त्यसपछि नै मेरी शब्दको प्रचलन बढेको बताइन्छ।