- गृहपृष्ठ
- कैदीबन्दीहरूबीच विवाद कैलाली कारागारका नाइके कुटिए
कैदीबन्दीहरूबीच विवाद कैलाली कारागारका नाइके कुटिए
HTV Khabar
२९ असार २०८२, शनिबार ०४:५६ मा प्रकाशित
धनगढी, कैलाली कारागारमा कैदीबन्दीहरूबीच विवाद भएको छ। शनिवार दिउँसो कारागारका नाइके खगेन्द्र बाेगटीमाथि कुटपिट भएपछि विवाद भएको हाे।
प्रहरीकाअनुसार कुटपिटमा परेका बाेगटीकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनकाे नाक र मुखमा चाेट लागेको प्रहरीले जनाएको छ।
बाेगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठकाे समूहले कुटपिट गरेकाे कारागार प्रशासनले जनाएको छ। घटना भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमाल र प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा कारागार पुगेका छन्।
एसपी राणाले कैदीबन्दीहरूबीच समान्य विवाद भएको बताउँदै अहिले साम्य भइसकेको बताए। सुरक्षा स्रोतकाअनुसार विहिवार प्रमुख जिल्ला अधिकारी हमालले गरेकाे निरीक्षणकाे क्रममा ब्लक ए मा रहेका कैदीहरूसँग माेबाइल फेला परेकाे थियो।त्यसपछि शुक्रवार ब्लक ए मा रहेका ७ जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियो।
तर, कारागारका नाइके बाेगटीले आफू जेलरकाे मान्छे हुँ भन्दै रवाफ देखाएको भन्दै श्रेष्ठकाे समूहले कुटपिट गरेको थियो तर प्रहरीले भने कैदीबन्दीबीच धकलधाकल हुँदाखेरि नाईकेलाई चाेट लागेको दाबी गरेकाे छ। प्रमुख अधिकारी हमालले पनि समान्य विवादले घटना भएको बताउँदै अहिले साम्य भइसकेको जानकारी दिएका छन्।
कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका छन्। उनीहरूले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनाेमानी गरेकाे भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए।