चोरी भएका ४१ मोटरसाइकल–स्कुटर धनीलाई फिर्ता

HTV Khabar ३२ श्रावण २०८२, आइतबार ०६:४९ मा प्रकाशित

काठमाडौं,  उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले फेला पारी धनीलाई फिर्ता गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आईतवार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २२ स्कुटर र १९ मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेका हुन्।

प्रहरीका अनुसार उजुरीका आधारमा खोजतलास गर्दा केही सवारीसाधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा भेटिएको थियो।

गत साउनयता मात्रै ५२ वटा चोरीका दुईपांग्रे सवारीसाधन धनीलाई फिर्ता गरिएको ट्राफिक प्रहरीले जनाएको छ। चोरीमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको छ।