काठमाडौं, काठमाडौंको सुकेधारास्थित ब्रूकलिन कलेजको स्वागत तथा बिदाई कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ब्रूकलिन कलेजको कक्षा ११ र १२ तथा स्नातक तहमा अध्ययन गरि उत्तीर्ण गरेका विद्यार्थीहरुलाई मायाको चीनोसहित खादा लगाएर बिदाई गरिएको हो।
कलेजका अध्यक्ष खिला सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा कक्षा ११ र स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा लगाएर स्वागत गरिएको थियो।
कार्यक्रममा कलेजमा विभिन्न संकायमा अध्यापन गर्ने प्राध्यापक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै कलेजद्वारा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी भइ उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो।
गीता लुइँटेल र किरण खड्काले सञ्चालन गरेको तथा रमेश भुसालले क्यामरामा कैद गरेको कार्यक्रममा विनायक सिद्ध कलेजका प्राचार्य रामकृष्ण सिंखडा, जिपि कोइराला मेमोरियल कलेजका डबलबहादुर बोहरा, हिमशिला स्कुलका प्राचार्य राजकुमार बोगटी, एचटिभी खबरका प्रधान सम्पादक सबिन पन्त 'पृथक' सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष प्रकाश सापकोटा, स्वयम्भू ईन्टरनेशनल कलेजका प्राचार्य सुमन चौधरी, समाजसेवी हरि कार्की, माधव त्रिपाठी, सागर गिरि, राजकुमार श्रेष्ठ, प्रेम तामाङ लोकचन्द्र लुइँटेल, शिक्षाविद् तथा ब्रूकलिन कलेजका सञ्चालक डा. प्रताप छतकुलिलगायत विभिन्न शिक्षण संस्थाका प्रतिनिधि र शिक्षाप्रेमी समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कलेजका अध्यक्ष समाजसेवी सापकोटाले कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अतिथि र विद्यार्थीहरुलाई मन्त्रमुग्ध शब्दहरुले स्वागत गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा बोल्दै सापकोटाले ब्रूकलिन कलेजको नाम र यसको भावको बारेमा प्रष्ट्याउँदै यहाँ अध्ययन गर्ने विद्यार्थी स्वदेश तथा विदेश कहिँ कतैपनि अलमलिनु नपर्ने बताए। कलेजको नामले नै गर्वका साथ अघि बढ्ने प्रेरणा मिल्ने उनको कथन थियो।
शिक्षाको न्यानो घामबाट कुनैपनि नेपाली युवाहरूलाई बन्चित हुनुनपर्ने उदेश्यका साथ कमजोर अर्थिक अवस्थाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने पनि सापकोटाले बताए। साच्चिकै अभिभावकको कमजोर आर्थिक अवस्थाको कारण कोही उच्च शिक्षा हासिल गर्नबाट बन्चित भएको भए कलेजमा जानकारी गराउन र त्यस्ता विद्यार्थीलाई आवश्यक सहयोग गर्न आफू तत्पर रहेको उनले प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि परीक्षा नियन्त्रक पुष्पराज जोशीले विगतमा समयमा परीक्षा नहुने र भएपनि समयमै त्यसको नतिजा प्रकाशित गर्न नसकिने जसको कारण कतिपय विद्यार्थीको भविष्य अन्यौल हुनेगरेको भएपनि अहिले त्यसको व्यापक सुधार गरिएको बताए।
कोभिडको समयमा उत्पन्न समस्याले केही समय अप्ठ्यारो परेको बताउँदै जोशीले अबका दिनमा परीक्षा सकिएको तीन महीनाभित्रमा त्यसको नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जनाए।
कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै उच्च शिक्षाकै लागि भनेर विदेशीने परिपाटीको अन्त्य गरि स्वदेशमै अध्ययन गर्ने अवसर तथा आकर्षण बढाउन आफूले सोछ लिएको पनि उनलेे बताए। विद्यार्थीहरुले आफ्नो ट्रान्स्क्रीट लगायत प्रमाणपत्र प्राप्त गर्न अन्लाईन आवेदनको व्यवस्था गरिएको र आउँदा दिनमा त्यसलाई अझै सहज बनाउने तर्फ लागिएको पनि उनलेे प्रष्ट्याएका छन्।
विद्यार्थीहरुले गरेको नृत्यहरु र प्रत्यक्ष साङ्गितिक प्रस्तुतिले कार्यक्रमलाई अत्यन्तै मनोरम र रोमाञ्चक बनाएको थियो। कार्यक्रममा उपस्थित अतिथिलाई विद्यार्थीले पनि अङ्ग्रेजी तथा नेपाली भाषामा मन्तव्य दिएर स्वागत गरेका थिए।
प्रत्येक वर्ष हुने कार्यक्रममा राजनैतिक व्यक्तिलाई प्रमुख अतिथि बनाउने गरिएकोमा यसपटक बिल्कुलै शिक्षासंग सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरि कक्षा १२ उत्तीर्ण २५० जना तथा स्नातक तह उत्तीर्ण २६५ जना गरि करिब ३१५ जना विद्यार्थीलाई दीक्षित गरेर कलेजले इतिहास रचेको छ।
ब्रूकलिन कलेज विभिन्न प्रतिष्ठित विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल योग्य र असल विद्यार्थीहरुको संगतस्थल बनेको छ। यस कलेज विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, शिक्षा तथा समाजसेवा संकायमा अध्ययन गरि उज्ज्वल भविष्य निर्माणको सपना देख्ने युवाहरू र अभिभावकको रोजाईमा पर्ने गरेको छ।