काठमाडौं, सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ।
पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप निःशुल्क दिने भएको हो।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी माघदेखि खोप अभियान सञ्चालन गर्न योजना थालिएको बताए।
उनका अनुसार ती उमेर समुहका करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन्।
आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने उनले बताए।
माघदेखि विद्यालय तहमा गएर बालिकालाई खोप दिने योजना बनाएको डा.गौतमले जनाए। विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप उनलेे बताए।
उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए। यसअघि सरकारले सात संघीय अस्पतालमा डेमोष्ट्रेसन (नमूना) का रुपमा १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो।
तर, यो अभियान यस वर्षको मात्र होइन। यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ।
यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ। यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ।
चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ। ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ। र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ।