काठमाडौं, बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान सुरु गरेको छ।
समितिका अनुसार हाल गुह्वेश्वरी क्षेत्रमा ट्रास बेरियर जडान गरिएको हो। यसपछि बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती-मनोहरा दोभान, युएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राखिनेछ। जसका लागि ६५ लाखमा ठेक्का सम्झौता भएको जनाइएको छ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोरलाई रोक्दै एक निश्चित स्थानमा संकलन गर्नेछ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलामा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको छ। ट्रास बेरियर जडानले नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न सकिने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने समितिले जनाएको छ।
ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित व्यवस्थापन गर्ने योजना पनि रहेको छ। यसबाट नदीको सौन्दर्य वृद्धि, जलचर जीवको संरक्षण तथा सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।