भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान फुकुवा

HTV Khabar १६ कार्तिक २०८१, शुक्रबार ०२:०४ मा प्रकाशित

काठमाडौं,  काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको थियो। सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने बताएको छ । ‘अहिले भैरहवामा यात्रु छैनन्। तर, शून्य यात्रु भए पनि भैरहवामा धेरै उडान राख्ने सर्तमा उसलाई उडानको अनुमति दिइएको छ,’ पाण्डेले भने। नेपालमा यस कम्पनीको उडान व्यवस्थापन गरिरहेको जनरल सेल्स एजेण्टलाई भने प्राधिकरणको कानून अनुसार सचेत गराउने काम भएको उनले बताए।