एमसीसी परियोजना आजबाट शुरु हुँदै

HTV Khabar १३ भाद्र २०८०, बुधवार ०९:३३ मा प्रकाशित

काठमाडौं, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजबाट शुरु हुनेभएको छ। आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा आएको घोषणा गरिनेछ।

अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच ‘लेटर अफ एक्सचेन्ज’ हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले जनाएको छ।

उक्त कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामरून हिजो नै काठमाडौं आइसकेका छन्।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ।

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारण लाइन र सवस्टेशनहरु निर्माण हुनेछन्।

यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ।

यो परियोजनाको विषयमा विवादभएपछिप्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ।

एमसीसी अन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।