काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ ह्यान्डबल ग्राउन्डदेखि अधिकारी मोडसम्मको सडक कालोपत्रे गर्न स्थानीयले एक रुपैयाँ संकलन दवावमूलक अभियान शुरु गरेका छन्।
वास्तविक रूपमा यो अभियान वडा कार्यालय मार्फत नगरपालिकालाई दवाव दिनको लागि शुरु गरिएको स्थानीयबसी रामप्रसाद अधिकारीले एचटिभी खबरलाई बताए। वर्षौंदेखि उक्त सडक खण्ड कालोपत्रे नगरिएको कारण सवारी साधन गुड्दा धुलो उडेर बाटो हिंड्न र वरपरका घरहरूमा समेत निकै समस्या भोग्नुपरेको अधिकारीले बताए।
सडकको धुलो उडेर बूढाबूढीलगायत सबैको स्वास्थ्यमा समेत असर परेको हुनाले सडक कालोपत्र गर्न पटकपटक नगरपालिकालाई ताकेता गर्दा पनि बेवास्ता गरेको कारण त्यसको विरोध स्वरुप एक रुपैयाँ संकलन अभियान शुरु गरिएको उनले बताए।
मंसिर ४ गते सोमवार वडा कार्यालय घेराउ गरि एक एक रुपैयाँ संकलन गरिएको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्थानीय समाजसेवी बद्री अधिकारीले जानकारी दिए।