काठमाडौं, नेपाल प्रहरीको केनाईन कार्यालय महाराजगंज परिसरमा नवनिर्मिति महिला प्रहरी व्यारेक भवन उद्घाटन गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आईतवार सोही कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त भवनको उद्घाटन गरेका हुन्। साथै उनले नवनिर्मित व्यारेक भवनको निरीक्षण समेत गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नवनिर्मित महिला प्रहरी व्यारेक भवनले लैंगिकमैत्री वातावरणको सिर्जना गर्नुका साथै महिला प्रहरीहरूको कार्यसम्पादनमा समेत उत्प्रेरणा बढाउने विश्वास व्यक्त गरे। भौतिक पूर्वाधार प्रहरी कार्य सम्पादनको प्रमुख कडी भएको चर्चा गर्दै नवनिर्मित व्यारेक भवनको उचित सदुपयोग र नियमित मर्मत संभारमा सबैको सक्रियता हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई.शम्भु प्रसाद कोइरीले नवनिर्मित व्यारेक भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
नेपाल सरकारबाट प्राप्त बजेटबाट दुई तले उक्त व्यारेक भवन कुल ९९ लाख ६६ हजार ५ सय १५ रूपैयाँ ५३ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो। कुल २८५६/३५ वर्ग फिट क्षेत्रफलमा रहेको उक्त व्यारेक भवनको भुइँ तलामा दुई वटा व्यारेक कोठा र पहिलो तलामा एउटा व्यारेक हल रहेका छन्।