काठमाडौं, नेपाल काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। हिजो भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराएर नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। सुरुवातबाटै लगातार अग्रता बनाएको नेपालले विजयी सुरुआत गरेको हो।
प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपालले ८-५ र १६-१३ को अग्रता बनाए पनि इरानले कमब्याक गर्दै १९ अंकमा बराबरी गरेको थियो। उषा भण्डारीले अन्तिममा उत्कृष्ट स्पाइक गर्दा दुई पटक सेट पोइन्ट बचाउँदै नेपालले दोस्रो सेट २८-२६ ले जित्यो।
नेपाललाई जित दिलाउन कप्तान अरुणा शाही र सरस्वती चौधरीले अट्याकिङमा राम्रो प्रदर्शन गरे। तेस्रो सेटको सुरुवातबाट १०-१३ सम्मैपछि परे पनि १७-१७ को बराबरीबाट नेपाल अगाडि बढेको थियो। अन्त्यमा नेपालले २५-२० को जित हाँसिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
दुई पटकको सेन्ट्रल जोन भलिबल च्याम्पियन नेपाल घरेलु मैदानमा भएको लिगमा भने पहिलो पटक फाइनल पुगेको हो। अघिल्लो संस्करणको काभा नेसन्स लिगमा भने नेपाल सेमिफाइनलमा नै पराजित भएर बाहिरिएको थियो। नेपालले लिग चरणमा इरानसँग हार बेहोरेपनि श्रीलंका, भारत र मालदिभ्सलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।