त्रिभुवन विमानस्थलमा खादा, माला र संस्थागत पोसाकमा प्रतिबन्ध

HTV Khabar २७ असार २०८२, शुक्रबार ०८:३८ मा प्रकाशित

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको पहिचान झल्काउने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

अध्यागमन कार्यालयले बुधवार सूचना जारी गर्दै अध्यागमन प्रक्रिया हुने क्षेत्रलाई अत्यन्त संवेदनशील र सुरक्षात्मक मानेका कारण यस्तो निर्णय गरिएको स्पष्ट पारेको हो।

नयाँ नियमअनुसार अब अध्यागमन काउन्टरमा यात्रु, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीका प्रतिनिधिहरूले खादा, माला, टोपी, ब्याच वा परिचय खुल्ने कुनै पनि सामग्री प्रयोग गर्न पाउने छैनन्।

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन। यस्ता वस्तुले सुरक्षा जोखिम बढाउन र प्रक्रियामा ढिलाइ गर्न सक्ने कार्यालयको भनाइ छ।