आजदेखि कांग्रेसले सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने

HTV Khabar १३ जेठ २०८१, आइतबार ०९:२० मा प्रकाशित

काठमाडौं, आजदेखि नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ। दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ।

बुधवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो।

आईतवार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ। काठमाडौंका १० क्षेत्रअनुसार क्रमश: उमेशज‌ंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा.डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ।

ललितपुरका ३ क्षेत्रमा क्रमश: दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन्। त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन्। काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।