अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न पाइने

HTV Khabar ४ अशोज २०८३, आइतबार ०१:५४ मा प्रकाशित

काठमाडौं, नागरिकताको प्रतिलिपि निकाल्न अब गृहजिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्रसेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए।

मन्त्रिपरिषद् बैठकले नागरिकता नियमावली, २०६३ (पाँचौँ संशोधन) स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री सस्मित पोखरेलले बताए। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ। यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो।

गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन प्रक्रिया अघि बढाइएको थियो। कानुन मन्त्रालयले सहमति दिएपछि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो। नियमावली संशोधनसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने व्यवस्था भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। 

नागरिकताको प्रतिलिपि लिन गृहजिल्लाको जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यताप्रति सर्वसाधारणले दुःख पाएको गुनासो गर्दै आएका थिए। अब भने आफू बसेकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिनेछ।

तर अन्तरजिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरणसमेत मिलेको हुनुपर्नेछ। नागरिकताको डिजिटल रेकर्ड भएका व्यक्तिले मात्रै यो सुविधा पाउनेछन्। पुराना नागरिकताको विवरण अझै डिजिटल रेकर्डमा प्रविष्ट नभइसकेकाका लागि भने यो सुविधा तत्काल उपलब्ध नहुन सक्ने गृह मन्त्रालयका अधिकारी बताउँछन्।

बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पारित गरेको शासकीय सुधारका एक सयबुँदे कार्यसूचीको २१ नम्बर बुँदामा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गर्ने उल्लेख थियो। निर्णय भएको करिब ६ महिनापछि सरकारले नागरिकता नियमावली संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।