काठमाडौं, सेयर दलालका रुपमा परिचित दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले अग्रवाललाई आईतवार ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाड्न आदेश दिएको थियो।
उनी धरौटी बुझाएर प्रक्रिया पुर्याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीलाई आज छाडे्को हो।
अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए। त्यतिमात्रै होइन अग्रवालल आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ।
धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ ९ग० अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ। साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ।
यसअघि, अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)बीच पनि विवाद देखिएको थियो। सिप्ला सेक्युरिटिजले २०८१ असोजमा अग्रवालले १६ करोड रुपैयाँ नदिएको भन्दै सीआईबीमा उजुरी दिएको थियो।