काठमाडौं, डायनामिक हाइड्रो इनर्जी प्रालिले ४२ मेगावाटको लाप्चे तामाकोसी अर्ध-जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले लागत ५ अर्ब ८५ करोड रुपैयाँ खर्चेर जलविद्युत आयोजना निर्माण गर्न लागेका हो।
यो आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ६४ लाख ६० हजार रुपैयाँ छ। आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भइसकेको छ। इआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भइ मन्त्रालयले स्वीकृति दिने तयारी गरिरहेको छ।
प्रतिवेदन स्वीकृति भएपछि निर्माणको बाँकी प्रक्रिया सुरु गर्ने तयारीमा कम्पनी छ।प्रस्तावित जलिवद्युत् आयोजना दोलखाको विगु गाउँपालिका-१ मा निर्माण हुनेछ। यो आयोजनाको ४० मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ। बाँकी २ मेगावाटको लागि पीपीए हुने प्रक्रियामा छ।
यो जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) लागि सकेको छ। यो आयोजनाको लागि २३८० मिटरको हेडरेस टनेल निर्माण गर्नुपर्छ। आयोजनाको ग्रस हेड २८२ मिटर, नेट हेड २७१.२३ मिटर र डिजाइन डिस्चार्ज १७.७० घनमिटर प्रतिसेकेण्ड छ।