काठमाडौं, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो सेवा सुविधा वापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन्।
उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन। आईतवार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन्।
‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हो,’ खरेलले भने। यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ।
योसँगै खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य, गणेश लामालगायतले नमोबुद्ध, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल वितरण गरेका छन्।