काठमाडौं महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका शिक्षकहरुको लागि आयोजना गरिएको सातदिने मनोसामाजिक सहजकर्ता करियर गाइडेन्स तालीम सम्पन्न सम्पन्न भएको छ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ वार्षिक स्वीकृत बजेट अनुसार 'शिक्षामा सीप' कार्यक्रम अन्तर्गत तालीम प्राविधिक तालीम सञ्चालन भएका सामुदायिक विद्यालयका फोकल शिक्षकहरुको लागि अन्तरङ्ग मनोसामाजिक अनुसन्धान तथा प्रशिक्षण केन्द्र र स्किल ल्याबको संयुक्त सहजीकरणमा वैशाख २५ गतेदेखि शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरिएको सातदिने प्रशिक्षण कार्यक्रम आज जेठ १ गते सम्पन्न भएको हो।
यस आर्थिक वर्षमा महानगरका सामुदायिक विद्यालयका १७५ जना शिक्षकहरुलाई मनोसामाजिक परामर्श तथा करियर गाइडेन्स सम्बन्धि प्रशिक्षण दिने लक्ष्यअनुरुप तालीम शुरु गरिएको विद्यालय निरीक्षक तथा यस तालिम कार्यक्रमकि संयोजक रुक्मिला ईटनिले एचटिभी खबरलाई बताइन्। १७५ जनालाई २५/२५ जनाको ७ वटा समूहमा विभाजन गरि प्रशिक्षण दिइने उनले प्रष्ट पारिन्।
सामुदायिक विद्यालयका शिक्षकहरुले यो प्रशिक्षण प्राप्त गरेपछि आफ्ना विद्यार्थीलाई रुचि र खुबीअनुसार कस्तो करियर उपयुक्त हुन्छ र त्यस्ता अवसरहरु कहाँ कसरी प्राप्त गर्न सकिन्छ भन्ने करियर गाइडेन्स गर्न दक्षता हासिल गर्ने उदेश्य लिइएको पनि विद्यालय निरीक्षक इटनीले बताइन्।
अन्तरङ्ग मनोसामाजिक अनुसन्धान तथा प्रशिक्षण केन्द्रका मनोविद सुनिता श्रेष्ठ र करिस्मा काफ्लेको प्रमुख सहजीकरणमा शिवपुरी विद्यालयमा २५/२५ जनाको दुई समूहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
विगतमा आफ्ना वरपर उपलब्ध करियरका अवसरहरुलाई विद्यार्थीहरुले छान्नुपर्ने बाध्यताको कारण खुशी नहुने , रुचि र खुबी अनुसारको सफल करियर निर्माणमा पछि पर्ने जस्ता कारणले गर्दा युवाहरूमा मनोवैज्ञानिक समस्याहरु उत्पन्न हुने गरेको थियो। जसको कारण युवाहरूमा पढेर पनि आफूले केही गर्ननसकेको महसुस गरि कुलतमा फस्ने जस्ता जोखिम देखिएको सहजकर्ता करिस्मा काफ्लेले बताइन्।
अहिलेको प्रविधियुक्त दुनियाँमा उनीहरुको सहज पहुँच भइ उनीहरुको रुचि र खुबी अनुसार जुनसुकै क्षेत्रमा करियर छनौट गर्न सक्ने बनाउन विद्यालयका शिक्षकहरुको महत्त्वपूर्ण भूमिका रहने भएकोले सामुदायिक विद्यालयका शिक्षकहरुलाई यो करियर गाइडेन्स प्रोग्राम अत्यन्तै लाभदायक भएको प्रशिक्षक तथा कार्यक्रमकि सहजकर्ता काफ्लेले प्रष्ट्याईन।
सातदिन चलेको प्रशिक्षण कार्यक्रममा पाँच दिनसम्म अन्तरङ्ग मनोसामाजिक अनुसन्धान तथा प्रशिक्षण केन्द्रकि मनोविद सुनिता श्रेष्ठले मानसिक स्वास्थ्यको बारेमा बताउँदै विद्यार्थीहरुमा मनोसामाजिक समस्याहरु उत्पन्न कारणहरुको चर्चा गरेकी थिइन्। प्रशिक्षक करिस्मा काफ्ले र आशिसमान श्रेष्ठले विद्यार्थीहरुको रुचि र खुबीको मापन कसरी गर्ने भन्ने प्रयोगात्मक विधिद्वारा र वृतिमार्ग निर्देशन आधारभूत अवधारणाहरुको प्रशिक्षण गराएका थिए।
सरिता घिमिरे र आशिसमान श्रेष्ठले करियर गाइडेन्सको लागि आवश्यक पाँचवटा क्षमताको बारेमा प्रशिक्षण सहजीकरण गरेका थिए भने प्रशिक्षक सविता श्रेष्ठले करियर छनौटमा सञ्चारको महत्त्व र सीपका बारेमा प्रशिक्षण दिएकी थिइन्।
छैटौं दिनको कार्यक्रममा स्किल ल्याबका प्रशिक्षक विद्या सागर पाण्डेले विद्यार्थीहरुलाई उनीहरुको रुचि र खुबी अनुसार कसरी करियर छनौट सहयोग पुर्याउन सकिन्छ भन्ने छलफल विधिद्वारा प्रशिक्षण गराएका थिए।
सातौं दिनको कार्यक्रममा प्रशिक्षक शिला थापा र भट्टराईले डिजिटल करियर गाइडेन्स प्लेटफर्मका बारेमा सैद्धान्तिक र श्रव्यदृश्य विधिद्वारा प्रशिक्षण गराएर लेबर मार्केटसम्म कसरी पुग्ने भन्ने प्रयोगात्मक र मनोरञ्जनात्मक तरिकाले प्रशिक्षण गराएका थिए।
प्रशिक्षार्थी शिक्षक देवीप्रसाद गुरागाईले काठमाडौं महानगर शिक्षा विभागले जारी गरेको सूचनाअनुसार करियर गाइडेन्सको प्रशिक्षण भएपनि मनोसामाजिक परामर्शको प्रशिक्षण नभएकोमा गुनासो गरे।