काठमाडौं, इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफल रोङ गाउँपालिकाले बेसार उत्पादन र प्रशोधनलाई पनि प्राथमिकतामा राखेको छ।
बाँदर लगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्धनमा लागेको हो ।
पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारी मार्फत ४५ जना किसानलाई अनुदानमा ८ सय ४० किलो बेसारको बिउ उपलब्ध गराइएको छ।
उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्नेछ। प्रतिकिलो ४० रुपैयाँका दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ। सुरुमा ४५ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकास गर्न थालिने बताइएको छ।
गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ। एक किलो बेसारबाट १० किलोसम्म उत्पादन हुने गरेको किसानको भनाइ छ। गाउँपालिकाले ६ वटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष्य लिएको छ।
गाउँपालिका र जिल्लाबाहिर बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराउन कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोले बताए।
बेसार पनि विभिन्न जातमा हुन्छन्। गाउँपालिकाले भने कपुरबोट जातको बेसार किसानलाई वितरण गरेको छ। गाउँपालिकाले यसअघि ‘रोङ मह’ र गुन्द्रुक ब्रान्डिङ गरिसकेको छ।
ब्रान्डिङ गरिएको सिस्नो पनि बजार पुर्याउन थालिएको छ। उत्पादन सुरु भएपछि ‘रोङ बेसार’लाई पनि ब्रान्डिङ गरिने अध्यक्ष स्याङ्बोले जनाए।