बूढानीलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला सम्पन्न

सबिन पन्त 'पृथक' ४ फाल्गुन २०८१, आइतबार ०६:५५ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृत्ती मेला सम्पन्न भएको छ। यहि फागुन २ र ३ गते नगरपालिका परिसरमा भएको मेलामा सयौंले रोजगार प्राप्त गर्नुका साथै धेरै विद्यार्थीहरुले इन्टर्नको सुविधा पनि प्राप्त गरेका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा  मेलाको समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले युवाहरूलाई रोजगारीका लागि विदेशिनु पर्ने बाध्यतालाई कम गर्न र आफ्नो स्थानमा नै रोजगारीको अवसर जुटाउन बूढानीलकण्ठ नगरपालिकाले थालनी गरेको कार्यको प्रशंसा गरेका थिए। 

त्यस्तै मेलाको अवसर पारेर बूढानीलकण्ठ नगरपालिकाले नियमित रुपमा संचालन हुने गरी वृति तथा रोजगार परामर्श केन्द्रको पनि शुभारम्भ गरेको छ भने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श पनि प्रदान गरेको छ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको समापन समरोहमा मेलालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।

विगतका मेलाहरुमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सकिने व्यवस्था गरेको थियो जसमा पहिलो दिन बेरोजगार नगरवासीले आफुले चाहेको पदमा आवेदन दिएका थिए।

तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलन समेत गरिएको थियो। माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ।

यसै गरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ। सयौँको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको थियो। मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टल मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रवार प्रवर्द्धक  र बाँकी ६ वटा विविध विषयका स्टलहरुरहेका थिए।

बूढानीलकण्ठ नगरपालिका सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनीले संचालन गरेको सो समापन कार्यक्रममा शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।