नेपाल सरकारको सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने अभियानअनुसार हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान यही फागुन ११ देखि १५ वटा जिल्लाहरुमा एकैसाथ सञ्चालन हुँदैछ।
आम औषधी सेवनका लागि ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, बाँके, दाङ र कैलालीमा तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदि स्थामा बुथ राखेर औषधि खुवाउने कार्यक्रम तयारी भईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हात्तीपाइलेको औषधी दुई वर्ष उमेर पूरा गरेका स्वस्थ व्यक्तिले मात्र खानुहुन्छ। गर्भवती, एकसातादेखि औषधी सेवन गरिरहेका, दीर्घरोगीले यो औषधी खान नहुने पनि मन्त्रालयले जनाएको छ। यो औषधीले मानव शरिरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले रोग लाग्नबाट बचाउने पनि जानकारी गराइएको छ।
हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्न सक्ने र यो रोग लागेमा खुट्टा सुन्निने तथा पुरुषहरुमा अण्डकोष सुन्निने तथा महिलाहरुमा स्तन पनि सुन्निन सक्ने स्वास्थ्य मन्त्रालयको दाबी छ।
यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आम नागरिकलाई आफुले औषधि सेवन गरेर अरुलाई पनि सेवन गर्न सूचीत गर्न आह्वान गरेका छन्।