ब्रूकलिन कलेजको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

सबिन पन्त 'पृथक' १७ फाल्गुन २०८०, बिहीबार ०७:०२ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.-५ सुकेधारास्थित ब्रूकलिन कलेजको  विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।


कलेजका अध्यक्ष खिलानाथ सापकोटाको सभापतित्व र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कलेजमा भर्ना भएका कक्षा ११ र स्नातक प्रथम वर्षमा नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने कक्षा १२ र स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो। 


त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाज शास्त्र संकायका डिन प्रो.डा.कुसुम शाक्यको विशिष्ट अतिथिका रूपमा सहभागीता रहेकोे कार्यक्रममा कक्षा १२ को परीक्षामा कलेज टप गर्ने विद्यार्थीलाई पुरस्कारका साथै उत्तीर्ण हुने विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। 


कार्यक्रमको आतिथ्यता प्रोफेसर शुभरत्न शाक्य, नेपाल एजुकेसन रिसर्च फाउन्डेसनका अध्यक्ष शम्भुप्रसाद घिमिरे, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ डिष्ट्रिक्ट 'एफ' का लिडर हरि प्रसाद दाहाल, लेखनाथ दाहाल, केशवराज श्रेष्ठलगायतले गरेका थिए। 


त्यस्तै कार्यक्रममा क्याम्पस प्रमुख हरिवहादुर माझी, एकेडेमीक डाइरेक्टर सुज्योती श्रेष्ठ, प्रोफेसर, कर्मचारीलगायत अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमका बीच विभिन्न खेलकुदमा भाग लिएर विजयी हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 


कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई कलेजका अध्यक्ष खिलानाथ सापकोटाले मन्तव्यद्वारा स्वागत गरेका थिए। 


अधिवक्ता त प्रोफेसर अशोकराज पाण्डेले सञ्चालन गरेको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रो.डा. कुसुम शाक्यले कलेजले छोटो समयमै उल्लेख्य प्रगति गरि विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सफल भएकोमा प्रशंसा  गर्दै अझै प्रगतिको कामना गरेकी थिइन्। 


कार्यक्रमका प्रमुख अतिथि माननीय रामहरि खतिवडाले निजी कलेजहरुले पनि राम्रो शिक्षा प्रदान गरेर उत्कृष्टता हासिल गर्न सक्छन् भन्ने  ब्रूकलिन कलेजले उदाहरण दिएको बताए। उनले शिक्षाको विकासमा निजी कलेजहरुको अपरिहार्यताका बारेमा आफूले संसदीय बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे।
 

कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले संगीत र नृत्यको माध्यमबाट अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।