भिजिट भिषा प्रकरण : सहसचिव तीर्थराज भट्टराई सहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

HTV Khabar २५ मंगशिर २०८२, बिहीबार ०७:३४ मा प्रकाशित

काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिषा प्रकरणमा विमानस्थल अध्यागमनका तत्कालिन प्रमुख सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सह सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।

आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहिबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेलसहित ७ जनालाई प्रतिवादी कायम गरेको छ। करिब ८० लाख रुपैयाँ भ्रष्टाचार भएको दावी अख्तियारको छ।

अख्तियारले सहसचिव तीर्थराज भट्टराई विरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख विगो माग दावी गरेको छ।

गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो।

भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको अनुसन्धानका क्रममा खुलेको आयोगको दावी छ।

प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो।

तर, एक वर्षपछि २०८१ मंसिर १४ गते काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा भिजिट भिषा प्रकरण बाहिरिएपछि भट्टराईलगायतका कर्मचारीहरु पक्राउ परेका थिए।

सोही काण्डमा तत्कालिन गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै रास्वपा र राप्रापाले ७० दिन भन्दा बढि संसद बैठक नै वहिस्कार गरेका थिए।