काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
मंगलवार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए। देउवाले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे।
यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरूरी रहेको बताए। जलविद्युत आयोजनाहरूको आइपीओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडृले चाँडै शेयर निष्कासन गर्ने उनले बताए। उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पती भएको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरे।
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए। यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने उनले बताए।
निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको उनले बताए।