माघ तेस्रो सातादेखि क्यान इन्फोटेक मेला हुँदै

HTV Khabar ६ माघ २०८१, आइतबार ०४:११ मा प्रकाशित

काठमाडौं, माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३०औं संस्करण हो। क्यान इन्फोटेक २०२५ को मिति घोषणासँगै प्रायोजक र साझेदारका लागि बुकिङ खुलाइएको छ।

यस पटक क्यान इन्फोटेकमा सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिने महासंघले जनाएको छ। प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन्।

उनका अनुसार क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नेे महत्त्वपूर्ण अवसर दिनेछ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि, स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ।

यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्यांगर निर्माण र विद्युत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाईलगायतका प्रस्तावसमेत आह्वान गरेको छ।