पेट्रोलको मूल्य एकैपटक पाँच रुपैयाँ घट्यो

HTV Khabar ३१ असार २०८२, मङ्गलबार ०९:०१ मा प्रकाशित

काठमाडौं,  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

निगमले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको जनाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ। डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि सोही अनुसार समायोजन गरिएको हो ।