विपि राजमार्गका तीन स्थानमा अवरूद्ध

HTV Khabar ३२ असार २०८२, मङ्गलबार ०९:२८ मा प्रकाशित

काठमाडौं, काभ्रेको रोशी गाउँपालिका हुँदै जाने विपि राजमार्गकाे तीन स्थानमा खोलाको भेल र लेदोका कारण अवरूद्ध भएको छ।

राति १० बजेपछि लगातारको वर्षापछि रोशी गाउँपालिका-११ माम्तीमा खोलाको भेल सडक माथिबाट आएको र त्यसले सडक कटान गरी राजमार्ग दुबै तर्फ अवरूद्ध बनाएको प्रहरीले जनाएको छ।

यस्तै, राति ११:३० बजेको समयमा रोशी-९ पिन्थलीमा खहरे खोलाको लेदो आई राजमार्ग अवरूद्ध बनाएको छ।

त्यसैगरी, सोही राति ११:३५ बजेतिर बिरूवाडाँडा क्षेत्रमा पनि खहरे खोलाको लेदो बग्दा विपि राजमार्ग ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्र.ना.उ. मिन बहादुर घलेले जानकारी दिए।

तीनवटै स्थानमा इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले जेसीबीको सहायतामा सडक खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ।