नव जागृती डान्सिङ स्टार -२०८० तथा मिस्टर एण्ड मिस नव जागृति -२०८० सम्पन्न

सबिन पन्त 'पृथक' १८ फाल्गुन २०८०, शुक्रबार ०५:१९ मा प्रकाशित

काठमाडौं, सामुदायिक विद्यालयमा शिक्षण सिकाइलगायत अतिरिक्त क्रियाकलाप राम्रोसँग हुँदैन भन्ने जनमानसमा रहेकोे भनाइलाई चिर्दै नव जागृती डान्सिङ स्टार -२०८० तथा मिस्टर एण्ड मिस नव जागृति -२०८० सम्पन्न भएको छ। 


काठमाडौं महानगरपालिका वडा नं.-६ बौद्ध, रामहिटीस्थित श्री नव जागृती माध्यमिक विद्यालयको बालबालिकाहरुको समूह सिर्जनशील बाल समूहले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको नव जागृती डान्सिङ स्टार -२०८० तथा मिस्टर एण्ड मिस नव जागृति -२०८० सम्पन्न भएको हो। 


सिर्जनशील बाल समूहको आयोजनामा २०८० जेठ १२ गते शुक्रवारदेखि नृत्य निर्देशक समृद्धि पन्तको निर्णायकत्वमा अडिशन राउन्ड हुँदै विभिन्न चरण पार गरेर सफल हुँदै आएका प्रतिभावान विद्यार्थीले  वरिष्ट युवा गायक सपन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। 



फागुन १७ गते रामहिटीस्थित साहित्य सदनमा आयोजित नव जागृती डान्सिङ स्टार -२०८० तथा मिस्टर एण्ड मिस नव जागृति -२०८० को फाइनलमा नृत्य निर्देशक समृद्धि पन्त र नृत्य निर्देशक देवराज गुरुङले निर्णायकको भूमिका निभाएका थिए। 


नव जागृती डान्सिङ स्टार -२०८० को फाइनलमा रहेका ७ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै कुसुम तामाङले प्रथम स्थानको ट्रफी हात पारिन् भने इमेश सिलवालले द्वितीय र रेनुका विश्वकर्माले तृतीय स्थानको ट्रफी हात पार्न सफल भए। 


त्यस्तै मिस्टर एण्ड मिस नव जागृति -२०८० को फाइनल चरणमा पुग्न सफल १४ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै श्रेया राई मिस्टर एण्ड मिस नवजागृती -२०८० को आइडल बन्न सफल भईन्। फस्ट रनरअपको उपाधी सोनिया लामाले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधी ईमेश सिलवालले नै हात पार्न सफल भए। 


सिर्जनशील बाल समूहकि प्रवक्ता रेनुका वि.क. र सकिना महर्जनले रोमाञ्चक तरिकाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद खकुरेल बालबालिकाको हौसला बढाउन विशेष अतिथिका रूपमा उपस्थित थिए।



विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर राई, ईन्चार्ज शंकरराज न्यौपाने, शिक्षकहरु शीला पोखरेल, दिलबहादुर सार्की, लक्ष्मण अधिकारी, मेनुका भट्ट र रोजिना सुनार स्वयं उपस्थित भएर विद्यार्थीलाई हौसला प्रदान गरेका थिए भने विद्यार्थीहरु पनि आफ्ना गुरुहरुको समुपस्थितिमा कार्यक्रम सम्पन्न गर्न पाएको अत्यन्तै खुशी भएका थिए। 


अतिरिक्त क्रियाकलाप प्रमुख तथा सिर्जनशील बाल समूहका संरक्षक सबिन पन्त 'पृथक' ले नव जागृती डान्सिङ स्टार -२०८० आयोजना गर्नदेखि सम्पन्न गर्नसम्म बाल समूहलाई सल्लाह सुझाव र सहयोग गर्दै सहजीकरण गरि बालबालिकालाई उर्जा प्रदान गरेका थिए।


बाल समूहले स्वागत नृत्य गरेर शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सपन श्रेष्ठले धेरै स्रोता र दर्शकको मन जित्न सफल आफ्नो राष्ट्रिय गीत मेची काली र आधुनिक 'बोलायो बोलायो पोखरेली मायाले' बोलको गीत प्रस्तुत गरेर बालबालिकालाई नचाएका थिए। कक्षा युकेजीमा अध्ययनरत सानासाना बालबालिकाले नृत्य गरेका थिए। 


बाल समूहकी अध्यक्ष स्वेता कार्कीले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरि कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन्।