जोसेफ एजुकेसनल नेटवर्कको अभिभावक दिवस, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

सबिन पन्त 'पृथक' २७ फाल्गुन २०८०, आइतबार १०:३० मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० मिलनचोकस्थित जोसेफ एजुकेसनल नेटवर्कको अभिभावक दिवस, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ।


जोसेफ एजुकेसनल नेटवर्कका अध्यक्ष तथा प्राचार्यको सभापतित्व र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित नेटवर्क अन्तर्गत रहेका जोसेफ हाई स्कुलको २७ औं तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका करिब दुई हजार तिनसय अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।


नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माको विशिष्ट आतिथ्यतामा भएको समारोहलाई बिल्कुलै नयाँपन दिन खोजिएको थियो। समरोहमा गणेश स्तुति, शिव ताण्डव नृत्य, अभिभावकहरुको गायन र नृत्य, गितीनाटक, स्काउटको कलात्मक प्रस्तुती, योगासन प्रस्तुति, प्रोफेस्नल स्मार्ट वाक भनेर सबै पेशाको सम्मान सहितको प्रस्तुतिले कार्यक्रमलाई उत्कृष्ट बनाएको थियो।


बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्दै सबैका सामु प्रस्तुत गर्ने क्षमता अभिवृद्धि होस् भन्ने अभिप्रायले सबैलाई समेटेर कक्षागत नृत्यलाई व्यवस्थितरूपमा सञ्चालन गर्दा एक हजार तिनसय जना विद्यार्थीलेआफ्नो कला देखाउने अवसर प्राप्त गरेको ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारीले बताए।


जोसेफ हाईस्कुलको प्राङ्गणमा आयोजित  कार्यक्रममा नेसनल प्याव्सनका पुर्व अध्यक्ष ऋतुराज सापकोटा, बूढानीलकण्ठ नगरपालिका वडा न १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई, ॐ समाज डेण्टल हस्पिटलका प्रमुख डा.सुबास घिमिरे, नेशनल 
प्याब्सन केन्द्र, प्याब्सन प्रदेश, प्याब्सन जिल्ला र प्याब्सन बूढानीलकण्ठ नगरपालिका पदाधिकारी, विभिन्न स्कुल तथा कलेजका प्राचार्यहरु, टोलसुधार समितिका पदाधिकारीहरु, समाजसेवी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।



उक्त समारोहमा समाजमा स्वच्छ पत्रकारिता गरि समाज र राष्ट्रप्रति विशेष योगदान पुर्‍याएको बापत एचटिभि खवरका प्रधान सम्पादक सबिन पन्त 'पृथक', नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव तथा सयपत्री टोल सुधार समितिका अध्यक्ष मेघनाथ भुर्तेल, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष शोभा खरेल उप्रेती, सरस्वतीनगर सुधार संघका अध्यक्ष पेशलकुमार  पहाडी, ॐ सिद्धेस्वर टोल सुधार समितिका अध्यक्ष बासु सेढाई तथा लोक बाल गायिका तथा जोसेफ स्कुलकी विद्यार्थी रबिना बसेललाई सम्मान गरिएको थियो।


जोसेफ मावीका संस्थापक प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयको शैक्षिक गतिविधिको वारेमा जानकारी दिएका थिए। विद्यालयको शैक्षिक उपलब्धि संगसंगै   नेपालको शैक्षिक र आर्थिक  विकासमा जोसेफ एजुकेसन नेटवर्कले गरेको योगदानका वारेमा बताएका थिए।

साथै उनले जोसेफ एडुकेस्नल नेटवर्क व्यवसायीक उदेश्यले मात्रै स्थापना नभएको बताउँदै समाज र राष्ट्रमानै समयानुकूल प्राविधिक, दक्ष र योग्य नागरिक उत्पादन गरि देश र जनताको विकास तथा सेवामा समर्पित भइ कार्य गर्नसक्ने असल संस्कार सहितको शिक्षा प्रदान गर्नु रहेको प्रष्ट पारे। 


जोसेफ माबिको कक्षा ६ की छात्रा शिखा त्रिपाठी  र इन्टरनेसनल जोसेफ पब्लिक स्कुलको कक्षा ६ की छात्रा निष्ठा शाक्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा जोसेफ स्कुलका शैक्षिक परामर्शदाता उत्तम दाहालले  जोसेफ स्कुलले लागु गरेका नयाँ परिबर्तित शैक्षिक प्रणाली, मुल्यांकन पद्धति र जोसेफ स्कुललाई नमुना विद्यालयको रुपमा विकास गरिएको कार्ययोजना प्रस्तुत गर्दै नमुना अभिभावक बन्ने कलाको कक्षागत तालिम जोसेफ स्कुलमा संचालन भैरहेकोले  अभिभावकहरुलाई सहभागी हुन अनुरोध गरेका थिए।


कार्यक्रम बिहान १०:३० बजेदेखि शुरु भएर साँझ ६:०० बजेसम्म सञ्चालन हुँदा पनि कार्यक्रमको रौनक भने कम भएको थिएन। अभिभावक र विद्यार्थीहरु विभिन्न मनोरञ्जनात्मक प्रस्तुति हेरेर रमाएर बसेको जोसेफ हाईस्कुलका प्रशासन प्रमुख दीपक अधिकारीले बताए।