काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले सरकार वा पार्टीको बचाउ गर्ने क्रममा मान्छेको ज्यानभन्दा ठूलो तर्क नगर्न आग्रह गरेका छन्।
नियम मान्छेका लागि बनेको भन्दै नियमका कारण मानिसलाई असहज अवस्था सिर्जना हुने भए त्यसको पुनरवलोकन गर्नुपर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘नियम मान्छेका लागि हो। एउटा मान्छेले नियम मान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको हो।
नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नुभन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरवलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढी मिहिनेत गर्नुपर्छ।’ रास्वपा र सरकारका समर्थकलाई सरकार वा पार्टी जोगाउने नाममा मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न अपिल गरेका छन्।
उनको असन्तुष्टि छ, ‘मान्छे र नियम मध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मूर्खता हो र पनि जवाफ दिनु पर्छ भने म मान्छे रोज्छु। तपाई के रोज्नु हुन्छ ? प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल।
’आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने उनको भनाइ छ। उनले थपेका छ, ‘दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला। आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ। दुवै कम गर्न सकिन्छ। त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल।’