प्रधानमन्त्रीको निजी सचिवमा बिनोदबहादुर कुँवर

HTV Khabar ७ श्रावण २०८१, सोमबार ०१:३५ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन्। उनले आइतबारदेखि सिंहदरबार पुगेर काम थालेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेका हुन्। मंसिर २०८०मा जनसंख्या मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए।

उनले विगतमा आन्तरिक राजस्व विभागमा पनि १४ महिना महानिर्देशक भएर काम गरेका थिए। विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित लोकसेवा आयोगमा काम गरेका कुँवरले प्रधानमन्त्रीको निजी सचिवालयको नेतृत्व गर्नेछन्।

विगतमा प्रधानमन्त्री कार्यालमा बस्दा उनले सिंहदरबारमा सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने कामको नेतृत्व गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार यो काम अघि बढेपनि कुँवरको सरूवा पछि अभियान अलपत्र परेको थियो।